Monday, July 29, 2019

ओत लाग्नु कहाँ गई


ओत लाग्नु कहाँ गई मायाको घर ढलेपछि,
पिरतीको बोटमा तितो विषै विष फलेपछि

तिमीसँगै सजाएथें जिन्दगीका कति सपना,
के अर्थ र पिँजडाको, चरी बसाईं सरेपछि

मेरो भन्नु तिमी थियौ, तिमीबिना संसार शुन्य,
बाँच्नु मैले कसोगरी आधा जीवन जलेपछि

जालमा पा¥यौ निष्ठुरीले सपनीमा भुलाएर,
झस्की उठें विपनीमा हुरी बतास चलेपछि

मनमा कैल्यै नमेटिने घाउ दिई बैगुनीले
सुकिगए आँशु मुहान रुँदारँदै गलेपछि ।।

माया मागे दिउँला सानु


माया मागे दिउँला सानु,
सँगै जुनी जिउँला सानु

तिम्लाई खुशी मिल्छ भने,
हाँसी विष पिउँला सानु

बसाईं सरुन् खुशी सारा,
तिम्रो पिडा  लिउँला सानु

घात नै यदि गर्छौ भने,
म नै पागल हुँला सानु

चोट मनमा परुन् जति,
फाटे मन सिउँला सानु

सक्दिन म हिरा मोति,
न्यानो काख दिउँला सानु ।।

जिन्दगी कसैको

जिन्दगी कसैको अँधेरी रात नहोस
साँचो प्रेमको उपहार घात नहोस

कति बन्छन प्रेमका मीठा गीत यहाँ 
सपना टुट्ने कुनै बज्रपात नहोस

चाह हुन्छ सबलाई हाँसी रमाउने
साथ दिंदा सट्टामा कतै लात नहोस

काटे रगत रातो,दुख्ने मन उस्तै
माया प्रेममा अवरोध जात नहोस

पिउँछौ पिउ यौवनको पानी जति
चाहिने भन्दा कत्ती बढी मात नहोस ।

Saturday, July 27, 2019

बचनको प्रहारले


बचनको प्रहारले कतिलाई काट्छौ प्रिया
घायल त्यो दुख्ने मुटु कतिसँग साट्छौ प्रिया

कतिको प्यास मेट्छौ यौवनको पानी पिलाई
बैंसको त्यो आवेगमा कतिन्जेल मात्छौ प्रिया

अँगालोमा बेरीबेरी रैछ रेट्ने तिम्रो बानी
सबैलाई फसाउने कस्तो बल्छि बाट्छौ प्रिया

जिन्दगी यो घामछाया मरीलानु के पो छ र
चोखो माया–प्रीत तिमी धनसँग साट्छौ प्रिया ।।
२०६९ असोज

जून हौ कि फूल तिमी


जून हौ कि फूल तिमी धर्ती सजाउँछौ
लज्जावती फूल जस्तै छुँदा लजाउँछौ,


नहेरे झैं दुनियाको आँखा छली हेर्छौ
अन्जान झैं बन्दै तिमी कति सताउँछौ,


तिमीलाई देखेपछि सारा पिडा भुल्छु
मधुर त्यो मुस्कानले रुदा हँसाउछौ,


इन्द्र पनि छक्क पर्छन तिमो रुप देख्दा
दुनिया नै भुलाएर परी नचाउछौ,


जे भने नि बाहिर तिम्ले दुनियालाई
मनले चाहीं तिमी गीत मेरै गाउछौ ।।
२०६९ असोज

गयौ तिमी साथ छोडि



गयौ तिमी साथ छोडि तिम्रै झुठो शहरमा
खाको बाचा बिर्सी गयौ ठूलाठूला रहरमा


तिम्रो पिडा लिन्छु म त, भन्थ्यौ दिन्छु सबै खुशी
आफू पियौ अमृत, पार्यौ मलाई जहरमा


जूनीजूनी सँगै जीउने मर्ने कसम खाथ्यौ
पराईसाथ गयौ मलाई छाडी बगरमा


तिम्रो लागि साँचेको थें जिन्दगीका आशा इच्छा
मनै तोडी लाग्यौ तिमी तारा टिप्न सगरमा


खुशी हुन्थें म त सानु तिम्रो साथ पाएँ भनी
सपना पो देख्या रैछु दिनको पहिलो प्रहरमा


तिम्ले साथ छोडे पनि तिम्रै खुशी चाहान्छु म
म त भएँ भैंको धुलो रम्नु तिमी महलमा ।।
२०६९ साउन

ओत लाग्नु कहाँ गई

ओत लाग्नु कहाँ गई मायाको घर ढलेपछि, पिरतीको बोटमा तितो विषै विष फलेपछि तिमीसँगै सजाएथें जिन्दगीका कति सपना, के अर्थ र पिँजडाको, ...